logo  शनिवार,२४ श्रावण,२०७७(Saturday,8 August,2020 )    027-520564   banaspati.ilam@gmail.com Check Email logo नेपाली logo ENG

वनस्पति अनुसन्धान केन्द्र¸इलाम

नेपालमा विद्यमान जडीबुटीहरूको पहिचान संकलन तथा व्यापार व्यवस्थित एवं विकास गर्ने उद्देश्य लिई वि.सं. १९९४ मा वनस्पति फाँटको रुपमा थालनी भई वि.सं. २०१६ मा नेपालमा वनस्पति विविधताको पहिचान, अध्ययन, सदुपयोग, प्रविधि विकास तथा प्रवर्द्धन गर्ने मूल उद्देश्य लिई वनस्पति विभागको स्थापना भएको हो । विभागले लिएको उद्देश्य र लक्ष्यलाई हासिल गर्न वि.सं. २०४० सालमा इलाम जिल्लाको माइपोखरीमा करिब २०० हे क्षेत्रफलमा माइपोखरी वनस्पति उद्यानको स्थापना भएको हो । वि.सं. २०५६ सालमा वनस्पति विभागको सांगठनिक पुनसंरचना भई जिल्ला वनस्पति कार्यालय, स्थापना भइ माइपोखरी वनस्पति उद्यान यसै कार्यालय मातहत रहेको थियो । वि.सं. २०७५ मा भएको सांगठनिक पुनसंरचना अनुसार जिल्ला वनस्पति कार्यालयको नाम परिमार्जन भई वनस्पति अनुसन्धान केन्द्र इलाम भएको छ र माइपोखरी वनस्पति उद्यान समेत यसै अनुसन्धान केन्द्र अन्तर्गत रहेको छ । 

वनस्पति अनुसन्धान केन्द्र, इलाम अन्तर्गत रहेको माइपोखरी वनस्पति उद्यान सन्दकपुर गाउ पालिका वडा नं १¸माइपोखरीमा अवस्थित छ । यस उद्यानको पुर्वमा माईपोखरी हुँदै माईमझुवा जाने बाटो¸ पश्चिममा भेडीचोक सा.व.¸ उत्तरमा भालुकटेरी सा.व. तथा रातोमाटे गाउँ र दक्षिणमा माईपोखरीको मुल गेट र मोटर बाटो रहेका छन । यस उद्यान समुद्र सतह देखि २१२१ मिटरको उचाइ (अक्षांसः २७0००'२५''उत्तर र देशान्तरः ८७0५६'०९''पूर्व) मा अवस्थित छ । आफ्नो स्थापना कालमा २०० हेक्टरमा फैलिएको उद्यान हाल जम्मा ५ हेक्टर क्षेत्रफलमा क्रियाकलापहरु संचालन गर्दै आइरहेको छ । यस उद्यानमामध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने उपयोगी वनस्पतिहरू चिराईतो, सतुवा, लौठसल्ला, मजिठो, ठूलो अखती, पाषणवेद, चुत्रो, जमाने मान्द्रो, ओखर, काफल, सुगन्धवाल, टिमुर, लालिगुँरास, बोझो, विभिन्न प्रजातिका सुनाखरी लगायतका करिव ३०० प्रजातिका वनस्पतिहरूको संरक्षण हुँदै आएको छ । यसका साथै  जिल्ला तथा आसपासका क्षेत्रहरूको वनस्पति सर्वेक्षण गरी पहिचान गर्ने तथा वनस्पतिहरूको नमुना संकलन गरी हर्वेरियममा संरक्षित गर्ने कार्य गर्दै आइरहेको छ । अध्ययन अनुसन्धान क्षेत्रमा पनि यस केन्द्रले स्थापना कालदेखि विभिन्न जडीबुटी तथा आर्थिक महत्वका वनस्पतिहरू सम्बन्धी अध्ययन गरी खेती प्रविधि विकास गरी कृषकहरूलाई सीप हस्तान्तरण गर्ने कार्य गर्दै आइरहेको छ । त्यसैगरी विभिन्न आदिवासी तथा जनजातिहरूले प्रयोग गर्दै आइरहेका वनस्पतिहरूको अभिलेखिकरण गर्ने, विरुवा उत्पादन गरी वितरण गर्ने, वनस्पति तथा जडीबुटी सम्बन्धी सचेतनाको कार्यक्रम गरी वनस्पतिको प्रयोग तथा संरक्षणबारे जनमानसमा  शिक्षा दिने कार्य गरेको छ । विभिन्न सामाग्रीहरू प्रकाशण गरी वितरण गर्ने, पर्यावरणीय सौन्दर्यता बढाई पर्यापर्यटन अभिवृद्वि गर्ने र आर्थिक विकासमा टेवा पुर्याई गरिबी न्यूनीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ प्राविधिक तथा विविध सेवा पुर्याउँदै आएको छ । यस उद्यान क्षेत्र भित्र रामसार सुचीकृत माइपोखरी रहेको¸ सुन्दर पर्वतीय श्रृङ्खलाहरुको अवलोकन गर्न सकिने, लालिगुँरासको वन र चिसो मौसम भएको कारणले गर्दा वार्षिक २३००० को संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरू भ्रमणमा आउने गर्दछन् ।

अनुसन्धान केन्द्रको मुख्य उद्देश्यहरू:

  • वनस्पति सम्पदाहरूको विस्तृत सर्वेक्षण संकलन पहिचान गर्ने,
  • वनस्पतिहरूको वंशाणु स्रोत संरक्षण गर्ने,
  • जडीबुटीहरू सम्बन्धी अध्ययन अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने,
  • सुगन्धित तेलयुक्त वनस्पतिहरूको तेल प्रतिशत परिक्षण गर्ने,
  • प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीहरूको सूचना प्रवाह गर्ने,
  • वनस्पति श्रोतको परम्परागत उपयोग सम्बन्धी अध्ययन अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोत उपयोगको सम्बन्धी ज्ञानलाई अभिलेखिकरण गर्ने,
  • जडीबुटीहरूको विरुवा उत्पादन तथा वितरण गर्ने,
  • जडीबुटी लघुवन पैदावार र वनस्पति स्रोत सम्बन्धी खेती तथा संरक्षण बारेमा तालिम तथा सेवा प्रदान गर्ने,
  • वनस्पति सम्बन्धी जानकारीको साथै उद्यान निर्माण तथा व्यवस्थापन सम्बन्धी तालिम तथा परामर्श सेवा प्रदान गर्ने ।

कार्यक्रमहरूको उद्देश्यहरू

हाल यस अनुसन्धान केन्द्रबाट दुइवटा वार्षिक कार्यक्रमहरु संचालन हुदै आइरहेका छन ।

 

जडीबुटी विकास कार्यक्रम

 

  • जडीबुटी विरुवा उत्पादन गर्ने,
  • जडीबुटी खेती प्रविधि विकास गरी प्राविधिक सीप हस्तान्तरण गर्ने,
  • जडीबुटी प्रजातिका वासस्थान संरक्षण व्यवस्थापन तथा अभिलेखिकरण गर्ने,
  • जडीबुटीहरू सम्बन्धी सूचना तथा नमुना प्रदर्शन गर्ने,
  • जडीबुटीखेतीप्रतिकृषकलाईअभिप्रेरितगर्ने।

वनस्पति संरक्षण तथा उद्यान विकास कार्यक्रम

  • वनस्पतिहरुको सर्वक्षण गरी दुर्लभ, लोपोन्मुख तथा संकटापूर्ण अवस्थाका वनस्पतिहरुको स्वस्थानीय तथा परस्थानीय संरक्षण गर्ने,
  • वनस्पतिहरुको वंशानुस्रोतको संरक्षण गर्ने,
  • मौसमी तथा सदावहार शोभनिय फूलविरुवा उत्पादन गरी उद्यानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने,
  • उद्यान अवलोकनमा आउने विद्यार्थीहरू, अवलोकनकर्ता तथा सोधकर्ताहरू माझ उद्यानलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने,
  • स्वदेशी शोभनिय फूल विरुवा तथा जडीबुटी सम्बन्धी अध्ययन अनुसन्धान गर्ने ।